१४ साउन, काठमाडौं । कैलालीका भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका वस्तीहरुमा बाढी पसेको छ । गएराति आएको बाढी वस्तीमा पसेपछि करिब एक सय घर परिवार प्रभावित भएका छन् । डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टले जानकारी दिए । भजनी नगरपालिकाको वडा नम्बर २ को मोहनपुर, वडा नं. ३ को ढुसी गाउँ, वडा नम्बर ५ को फुलियापुर गाउँमा बाढी पसेको छ । ढुसी गाउँको चेकड्याम भत्काएर बाढी वस्तीमा पसेको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले जानकारी दिए । वडा नम्बर २ र वडा नम्बर ३ मा काँढा नदीको बाढी र वडा नम्बर ५ मा कान्द्रा नदीको बाढी वस्तीमा पस्ने गरेको मेयर चौधरीले बताए । मोहनपुर, ढुसी र काँडा गाउँमा ५०–६० घरमा पानी पसेको जानकारी आफूलाई आएको डिएसपी विष्टले बताए । यसैगरी कैलालीकै जोशीपुर गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ६ र ७ का वस्ती पनि डुबानमा परेका छन् । गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले खमरिया टोल, झबही, खैरेनी, हसनापुरको पूर्वी टोल, बाँणी, मैनपोखरी, बढैया, रतनपुर, मनकापुर, भित्रैया, घैला गाउँ, बौनिया गाउँलगायतका स्थान डु...